सुरेश श्रेष्ठ
काठमाडौँ, साउन १९ गते ।
क्रिकेटको यो ‘क्रेज’ बुझ्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा यो मैदान यतिखेर तीव्र रूपमा स्तरीय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा परिणत हुँदै छ ।
वर्तमान सरकार गठन भएपछि मन्त्रीपरिषद्को पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई तीन सय दिनभित्र फ्लडलाइट (उच्च प्रकाश क्षमताको बत्ति) सहितको रङ्गशाला बनाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडानको काम २०८१ फागुन २१ गते सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो । समयमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री ओलीले यही असार मसान्तभित्र जसरी पनि काम सक्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको यो हुटहुटीबिच पनि स्तरोन्नतिको काम समयमा सम्पन्न हुन नसकेपछि सहरी विकास मन्त्रालयले ठेकेदार पक्षलाई जरिबाना तिराएको छ । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले प्रतिदिन ०.०५ प्रतिशतले जरिबाना तिर्ने गरी काम गर्ने सहमति भएको बताउनुभयो ।
४३ करोड ७७ लाखको टेन्डरमा प्यारापिट निर्माणको ठेक्का बिकेओआई केसिडिसी बिजी जेभीले पाएको छ भने फ्लडलाइटको काम विशाण–ईश्वरी जोइन्ट भेन्चरले पाएको छ । वर्षाको समय भएको र प्राविधिक विषयमा केही परिमार्जन भएकाले पहिलो पटक तोकिएको समयमा काम सम्पन्न हुन सकेन ।
मैदानको चारैतिर प्यारापिटसहितको रङ्गशाला निर्माण हुँदै छ ।
पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र छ वटा फ्लडलाइट जडान गरिने छ । अहिलेसम्म प्यारापिटतर्फ ८० प्रतिशतभन्दा माथिको भौतिक प्रगति भएको प्रमुख कण्ठ बताउनुहुन्छ । उहाँका अनुसार प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ र पूर्वतर्फ दुई गरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिने छन् । पूर्वमा ढलान गरी एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म पहेँला, सेता, खैरा, हरिया, नीला र सुन्तला गरी पाँच रङका कुर्सी जडान गरिएको छ । पश्चिमी भागको प्यारापिट ‘टियु रोड’ देखि ‘चोभार इन्ड’ सम्म छ ब्लकसहित ६० हजार स्क्वायर फिटमा फैलिएको छ । त्यस्तै दक्षिण पूर्वी भागमा २३ हजार स्क्वायर फिटमा दुई ब्लकसहितको प्यारापिट निर्माण भइरहेको छ । पश्चिम ब्लकमा आधा ढलान बाँकी छ । वर्षात्का कारण बाटोको काममा ढिलाइ भएको हो ।
सामान्यतया धेरै जसो क्रिकेट मैदानमा चार वटा फ्लडलाइट जडान गरिएका हुन्छन् । त्रिवि क्रिकेट मैदानमा भने छ वटा फ्लडलाइट राखिने छ । फ्लडलाइटको ४५ प्रतिशतभन्दा माथि काम भइसकेको छ । ४५ मिटर र ५५ मिटरसम्म अग्ला फ्लडलाइटका लागि तीन वटा पोल भारतबाट आइसकेको र तीन वटा आउन बाँकी रहेको कण्ठले बताउनुभयो । फ्लडलाइट जडानका लागि हाल ‘बेस’ पूर्ण रूपमा तयार भइसकेर जडान गर्न मिल्ने अवस्थामा छन् ।
नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुम्बी लामा नेपाल सरकारको पहलमा भएको यो काम अन्तिम चरणमा पुगेको बताउनुहुन्छ । उहाँले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि त्रिवि रङ्गशाला तयार हुने विश्वास व्यक्त गर्नुभयो । तस्वीरः बि. श्रेष्ठ