काठमाडौँ, साउन २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।
रविन्द्र म्याट्रिक्स फाइट नाइट १७ जित्ने पहिलो नेपाली फाइटर हुनुहुन्छ । रवीन्द्रले शनिबार राति भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरण नकआउट पार्दै ऐतिहासिक बान्टमवेट च्याम्पियनसिप उपाधि जित्नुभएको थियो ।
राष्ट्रपति पौडेलले स्वागत कार्यक्रममा भन्नुभयो– ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।’
राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताउँदै भन्नुभयो– ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’ उहाँले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूको लागि गौरवको विषय हो, भन्नुभयो । राष्ट्रपति पौडेलले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।