एएफसी यू–२० महिला एसियन कप छनोट

नेपाल र भुटान बराबर

  • खेल संसार
  • २०८२ श्रावण २२, बुधबार
नेपाल र भुटान बराबर

खेल संसार संवाददाता,

काठमाडौँ, साउन २१ गते । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत समूह ए मा नेपाल बुधबार घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको छ ।

दुई हप्ताअघि बङगलादेशमा भएको साफ महिला यु२० च्याम्पियन्सीपमा नेपालले भुटानलाई ६–१ र ८–० ले हराएको थियो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङगशालामा बुधबार खेल सुरु भएको एक मिनेट पनि बितेको थिएन, सेनु परियारले गोल गरी नेपाललाई स्वप्निल अग्रता दिलाउनुभयो । सुक्रिया मियाले मैदानको दायाँ भागबाट गरेको क्रसमा सेनुले भुटानकी गोलकिपर पेमा याङजोमलाई छक्काउँदै गोल गर्नुभएको हो ।

सो गोलपछि नेपालका लागि भुटानविरुद्धको लगातार तेस्रो खेल पनि सहज हुने अनुमान गरिएको थियो । तर भुटानले घरेलु मैदानमा कडा टक्कर दिएर नेपाललाई खेल जित्न दिएन । खेलको १८ औँ मिनेटमा केल्डेन वाङमोले डिबक्स भित्रबाट सशक्त प्रहारमार्फत् गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याउनुभएको थियो । सो गोलमा नेपालका डिफेन्डर र गोलकिपर लिला जोशीको पनि गल्ती थियो । आफ्नो स्थान छोडेर धेरै अगाडि बढेकै कारण गोलपिकर लीलाले वाङमोको प्रहारलाई रोक्ने अवसर पाउनुभएन । साफ यु२० च्याम्पियन्सीपमा भुटानले नेपालविरुद्ध गरेको एक मात्र गोल वाङमोले नै गर्नुभएको थियो ।

मध्यान्तरपछिको खेलमा नेपालले गरेको गोलले मान्यता पाएन । खेलको ५९ औँ मिनेटमा सेनुको ‘थु्र’ पासमा पूर्णिमाले बल गोलपोस्टमा छिराउनुभएको थियो । तर सहायक रेफ्रीले अफसाइडको झन्डा उठाएपछि सो वैध भएन ।

यसअघि बुधबारै भएको पहिलो खेलमा उत्तर कोरियाले सउदी अरबलाई १५–० ले हराएको थियो । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । तर भुटानसँगको बराबरीले नेपालको सो अभियानमा पनि धक्का लाग्नसक्छ ।

३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।

तस्बिर सौजन्यः एन्फा

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती